पराक्रम बालप्रतिभा कवि दर्शन केसीलाई

 

काठमाडौँ, पौष १५ l साहित्यकार महेश पौड्यालले आफ्नो दिवङ्गत छोरा श्री पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको पराक्रम बालप्रतिभा पुरस्कार वर्ष २०७५ का लागि बालकवि दर्शन केसीलाई प्रदान गरिएको छ ।

१५ पौष, आइतबारका दिन स्वर्गीय पराक्रम पौड्यालको जन्मदिनको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कवि गोपाल पराजुलीले रू १० हजार नगदसहित उक्त पुरस्कार कवि केसीलाई प्रदान गनुभएको हो । जन्मैदेखि आंशिक मस्तिष्क पक्षघात भएका कारण बोल्न र हिँड्डुल गर्न नसक्ने केसी नाकले कम्प्युटरमा टाइप गरेर नेपाली र अङ्ग्रेजी भाषामा कविता लेख्छन् ।

उनको दारुण शारीरिक अवस्था देखेर विक्षिप्त उनकी आमाले २०६३ मा आत्महत्या गरेपछि केसी बुवाको एकल स्याहारमा बानेश्वरको शान्तिनगरस्थित घरमा हुर्किरहेका छन् । सौतेनी आमाबाट खासै माया पाउन नसकेका केसी प्रतिकूल अवस्थामा, निर्माण मजदुरी गरेर परिवार धानिरहेका बुवा निरज केसीको छत्रछायामा बाँचिरहेका छन् । सुरुमा स्कुल गएर कखरा सिकेका केसी हाल घरैमा बसेर लेखपढ गर्छन्, र साहित्यमा रमाउँछन् ।

कार्यक्रममा उपस्थित साहित्यकार र पत्रकारहरूलाई जानकारी दिँदै उनका बुवा निरज केसीले यो नै आजसम्म दर्शन केसीले पाएको सबैभन्दा ठूलो प्रोत्साहन भएको बताए । दर्शनले थुप्रै कविता र आफ्नो संघर्ष कथा कम्प्युटरमा लेखेर राखेको, र प्रकाशन सहयोगको प्रतीक्षामा रहेको पनि उनले जानकारी गराए ।

प्रमुख अतिथि गोपाल पराजुलीले यो पुरस्कार उचित पात्रलाई दिइएको भन्दै उनको उत्तरोत्तर प्रगतिको कामना गरे । पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले आफूले दर्शनलाई यसपछि पनि सहयोग गर्दै लाने प्रतिबद्धता व्यक्त गरिन् ।

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology